Saturday, May 10, 2008

Madhesh Special

गोइतका तीन सय कार्यकर्ता माओवादीमा
मई, 9 काठमाडौं

नेपालको तराइ क्षेत्रमा सशस्त्र सङ्घर्ष गरिरहेको जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका सुनसरी-मोरङ इन्चार्ज सङ्केत सहित सो समूहका ३०० भन्दा बढी कार्यकर्ता बुधबार नेकपा ९माओवादी०मा प्रवेश गरेका छन् ।
बुधबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित माओवादीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सो मोर्चाका सुनसरी-मोरङ इन्चार्ज सङ्केत, सुनसरी इन्चार्ज रञ्जन, जिल्लाकै सहइन्चार्ज खगेन्द्र सिंह, सैन्य कमान्डर भूपनारायण, सैन्य सहकमान्डर जयकृष्ण, तराई विद्यार्थी मुक्ति मोर्चा सुनसरी संयोजक शङ्कर, तराई शिक्षक मुक्ति मोर्चाका वीरेन्द्र, तराई युवा मोर्चा सुनसरी संयोजक दिलचन्द साहलगायत ३०० भन्दा बढी कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।
त्यहाँ आयोजित पत्रकार सम्मेलनमा गाेइतले नेतृत्व गरेको मोर्चाका सुनसरी जिल्ला अन्तर्गत रहेका जनसरकार, जनअदालत र सबै जनवर्गीय सङ्गठनहरु माओवादीमा समाहित भएको जनायो ।
प्रेस विज्ञप्तिमा जनाइए अनुसार मोर्चाले व्यक्ति हत्या, चन्दा आतङ्क, गैरराजनीतिक क्रियाकलाप व्यक्तिगत स्वार्थका कामहरु मात्रै गरेकाले बाध्य भएर विद्रोह गर्नुपरेको सङ्केतले जनाउनु भएको छ ।
बुधबार जारी सो विज्ञप्तिमा ०६२-६३ को जनआन्दोलनले प्राप्त अधिकारलाई संविधानसभा मार्फत माओवादीलाई देशको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गरेपछि सङ्घीय गणतन्त्रात्मक राज्य स्थापनाका लागि हतियारको आन्दोलनको अर्थ नरहेने भएकाले माओवादीमा समाहित हुनुपरेको प्रष्ट पारिएको छ ।
मोर्चाको विज्ञप्तिमा अगाडि भनिएको छ- आज मुलुक नयाँ दिशातर्फ जान लागिरहेकाले नयाँ नेपाल निर्माण र शान्ति स्थापना, आर्थिक क्रान्ति गरी समुन्नत राज्य स्थापना गर्न सामन्तवाद साम्राज्यवाद, विस्तारवाद र सबै खाले उत्पीडनका विरुद्ध मुक्ति युद्धको नेतृत्व गर्दै आइरहेको महान् तथा गौरवशाली पार्टी माओवादीमा प्रवेश गरेको घोषणा गर्दछौ ।

चिनीयाँ राजदूत तथा प्रम कोइराला बीच भेटवार्ता
मई, 9 काठमाडौं

वर्तमान राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ राजदूत जिङ जियालिङबीच बिहीबार भेटवार्ता भएको छ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा राजदूत जिङले बुधबार बिहान ४ बजे ओलम्पिक टस सफलतापूर्वक सगरमाथा पुर्‍याउन सहयोग गरेकोमा प्रधानमन्त्रीसहित नेपाल सरकारलाई धन्यावाद दिनुभयो ।
सो भेटमा चिनीयाँ राजदूतले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध सुमधुर रहने बताउनु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार आदित्य बरालले जानकारी दिनुभयो ।
सोही अवसरमा राजदूत जिङमार्फत प्रधानमन्त्री कोइरालाले चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई बधाई पत्र समेत पठाउनुभएको छ ।

गणतन्त्र कार्यान्वयन भएन भने ७५ वटै जिल्ला कब्जा हुन्छ प्रचण्ड
मई, 9 काठमाडौं

नयाँ सरकार गठनको प्रक्रिया शुक्रबारबाट औपचारिक रुपमा सुरु हुने बताउँदै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान बस्ने सात दलको बैठकबाट यस्तो प्रक्रिया सुरु हुने बताउँदै दुई तीन दिन हप्तामा नयाँ सरकार बन्ने बताउनुभयो ।
बिहीबार राजधानीमा रोल्पाबाट संविधानसभा निर्वाचनमा निर्वाचित सभासदको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कतिपय दलले जनादेशको सम्मान गर्न नसकेकाले सरकार गठनमा ढिलाई भइरहेको बताउनुभयो ।
प्रचण्डले दलहरुबीच सहमति भएपछि संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्यसँगै नयाँ सरकारको घोषणा हुने बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले पहिलो बैठकले सामन्तहरुको हैकम सदाका लागि अन्त्य गर्ने भन्दै त्यसमा व्यवधान गर्न खोजे सोही दिन ७५ वटै जिल्ला सदरमुकाम र राजधानी कब्जा गर्ने चेतावनी दिनुभयो ।
माओवादी अन्य दलजस्तो सुविधाभोगी नहुने आश्वस्त पार्दै उहाँले भन्नुभयो, हजारौको बलिदानलाई टाउकोमा बोकेर हिडेको पार्टी अरु छैन र सम्पूर्ण घरबार त्यागेर हिडेको केन्द्रीय समिति अरु दलजस्तो हुनै सक्दैन ।
निर्वाचनमार्फत मुलुक चमत्कार भएको दोहोर्‍याउँदै अध्यक्ष प्रचण्डले अब केही वर्षमा अर्को भयानक चमत्कार हुने बताउनुभयो । केही वर्षमा नेपाल विश्वकै विकसित मुलुकमा परिणत हुने उहाँको भनाइ थियो ।।

मन्त्री गुप्तालाई पदच्युच गर्न माग
काठमाडौं मई, 9

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरणमुक्त र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई पदच्यूत गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ ।

सो पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यही वैशाख २२ गते मन्त्री गुप्ताको नेतृत्वमा पार्टी अध्यक्ष सिंह राजविराजबाट अपहरणमा पर्नुभएको जानकारी दिँदै उहाँको मुक्तिका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गर्दा पनि कुनै पहल नभएको भनी दुःख व्यक्त गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डलले अध्यक्ष सिंहको मुक्ति र मन्त्री गुप्ताको बर्खास्तीसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आश्वासन प्राप्त भए पनि अहिलेसम्म कुनै काम नभएकाले दवाव सृजना गर्न समाजसेवी, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीलगायत समस्त जनसमुदायसँग आग्रह गर्नुभयो ।

यसैगरी पार्टी नेत्री सरिता गिरीले पार्टीबाट निष्कासित गुप्तालाई सातदलीय सरकारमा राख्नु र आपराधिक गतिविधिमा संलग्न भएकामा विभिन्न प्रमाण पेस गर्दा पनि कुनै कारवाही नहुनु आश्चर्यको विषय भएको बताउनुभयो ।

सो पार्टीले गुण्डागर्दी र अनेकौँ जालझेल गरी अपहरणमा पर्नुभएकी पार्टी अध्यक्ष सिंहलाई तत्काल हिरासतबाट मुक्त नगरिए विरोधका कार्यक्रम ल्याई सशक्तरूपमा लाग्न बाध्य हुनुपर्ने जनाएको छ ।

बालुवाटारमा सात दलको शिर्ष नेताहरुको बैठक सुरु हुँदै
काठमाडौं मई, 9
गणतन्त्र कार्यन्वयन, नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न सात राजनीतिक दलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको छ। बैठक बिहान ८ बजे नै बस्ने बताइए पनि यो समाचार तयार पार्दै गर्दा ९ बजेतिर दलका नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ।

आजको बैठकमा संविधानसभाको पहिलो बैठकको प्रक्रिया र कार्यसूचीबारे परामर्श हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बिहीबार सार्जजनिक गरेपछि संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गतेभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्नेछ ।

अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने अन्तरिम संविधान २०६३ मा उल्लेख छ।

आजको बैठकमा संविधानसभा निर्वाचनपछि स्थापित नयाँ राजनीतिक शक्तिसँगको सहकार्य र सहमतिको प्रक्रियाका बारेमा पनि छलफल हुने कांग्रेस महामन्त्री विमलेन्द्र निधिले बताउनुभयो ।

संविधानसभामा राजनीतिक सहमतिका आधारमा विशिष्ठ व्यक्तिहरुमध्येबाट मनोनित गर्नुपर्ने २६ जनाबारे पनि परामर्श हुने निधिले बताउनुभयो । संविधानसभा निर्वाचन भएको ठिक एक महिनापछि पहिलो पटक सात दलको बैठक बस्न लागेको हो ।

Wednesday, May 7, 2008

Madhesh Special News

पूर्व महान्यायाधिवक्ता सिंहको निधन
काठमाडौं
मई,

पूर्व महान्यायाधिवक्ता एवं २०४७ सालको संविधान मस्यौदाकार रामानन्द प्रसाद सिंह ठाकुरको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।

लामो समयदेखि मधुमेहबाट पीडित ठाकुरको सप्तरी प्रस्रौनीस्थित आफ्नै निवासमा बुधबार बिहान ४ बजे निधन भएको हो ।

सिंह मधेशी समुदाय मधेशी समुदायको तर्फबाट पहिलो महान्यायाधिवक्तासमेत हुनुहुन्छ ।

यसैबीच थारु कल्याणकारिणी सभा र नेपाली कांग्रेस सप्तरीले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


मजदुर नेता गिरफ्तारीको विरोध
दक्षिण
कोरिया मई,

प्रवासी मजदुरहरुको हकहित र अधिकारको खातिर लड्दै आईहहेको संस्था एमटीयुका वर्तमान अध्यक्ष तोर्ण लिम्बु र उपाध्यक्ष बंगलादेशका सबुरलाई पक्राउ गरिएकोमा नेपाली सम्पर्क समिति र नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाले आपत्ति जनाएका छन् ।

मे २ तारिखका साँझ ८.२० बजे उहाँको कार्यालय अगाडि खाना खाएर फर्किदै गर्दा र उपाध्यक्ष बंगलादेशी मीत्र शबुरलाई उहाँको कोठाबाट सुनियोजित तवरले षड्यन्त्रपूर्वक गिरप\mतार गरिएको थियो ।

साथै उक्त गिरफ्तारीले कोरिया सरकारको प्रवासी मजदुरहरुप्रतिको अमानवीय व्यवहारको नाङ्गो प्रदर्शन गरेको छ एनसीसीका अध्यक्ष ईश्वर केसीद्वारा विज्ञप्तिमा उल्लेख छ । नेपाली सम्पर्क समिति मजदुर नेता द्धयको विनाशर्त यथाशिघ्र रिहाईको जोडदार माग गरेको छ।

त्यसैगरी नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष बाबुराम तामाङले पनि मजदुर नेताहरुको गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाईको माग गर्नुभएको छ।


रुपन्देही र धनुषामा अज्ञात समूहको गोली प्रहारबाट दुईको मृत्यु
काठमाडौं मई, ७


अज्ञात समूहले जनकपुर चुरोट कारखानाका लेखापाल श्रवणकुमार श्रेष्ठको अपहरणपछि गोली हानी हत्या गरेको छ भने एक अर्को अज्ञात समूहले रुपन्देहीको बोधबार गाविस-१ विष्णुपुरामा गएराति एक मजदुरको गोली हानी हत्या गरेको छ।

गति शनिबार साँझ घर फर्कने क्रममा अपहरण गरिएका श्रेष्ठ बुधबार बिहान धनुषाको इच्छापुरमा मृत फेला परेका हुन् । उनको पिठ्युमा दुई वटा गोली लागेको प्रहरीले जनाएको छ।

अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिए पनि केही अघि रिहा गरेको थियो । यसैबीच संयुक्त मधेशी मुक्ति टाइगरका राजन मुक्तिले घटनाको जिम्मेवारी लिएका छन् ।

त्यस्तै अज्ञात समूहले रुपन्देहीको बोधबार गाविस-१ विष्णुपुरामा गएराति एक मजदुरको गोली हानी हत्या गरेको छ। मध्यराति १०/१५ जनाको समूहमा आएका उनीहरुले चितवन कृष्णपुरका करिब ३८ वर्षिय अर्जुन बोहोराको गोली हानी हत्या गरेका हुन् ।

बोधबारमा पुल निर्माणमा संलग्न कामदारहरु बसेको स्थानमा सो समूहले मध्यराति एक्कासी आक्रमण गरेको थियो । टहरामा सृतिरहेका कामदारलाई उठाएर सो समूहले बोहोरामाथि गोली प्रहार गरेको र अन्य तीन जनालाई सामान्य कुटपिटपछि छाडेको प्रहरीले जनाएको छ।

सो क्रममा उनीहरुले पुल निर्माण कार्यमा प्रयोग हुँदै आएको ना१ख ५२८५ नम्बरको ट्रक तथा मजदुर बस्दै आएका दुई वटा टहरामा आगजनीसमेत गरेका छन् ।


नेपाल पत्रकार महासंघमा अब नयाँ नेतृत्व, धर्मेन्द्र झा अध्यक्षमा निर्वाचित
मई, 5 काठमाडौं


नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २२औं महाधिवेशनमा धर्मेन्द्र झा अध्यक्ष पदमा विजयी वनेका छन् ।
नवनिर्वाचित अध्यक्ष झाले ३ सय ६४ मत प्राप्त गरी विजयी बन्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शिव गाउँलेले ३ सय १६ मत प्राप्त गर्नुभएको थियो भने निवर्तमान महासचिव महेन्द्र विष्टले २ सय ७९ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी महासंघको उपाध्यक्षमा गोविन्द आचार्य, महासचिवमा पोषण केसी, सचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रमेश विष्ट विजयी हुनु भएको छ।
त्यसैगरी केन्द्रीय सदस्यहरुमा उपत्यकाबाट उजीर मगर र जगत नेपाल विजयी हुनु भएको छ भने पूर्वाञ्चलबाट शम्भु थापा र किशोर कार्की, मध्यमाञ्चलबाट शितल साह, प्रताप विष्ट, पश्चिमाञ्चल रविन्द्र बास्तोला, पुण्य पौडेल, मध्यपश्चिमाञ्चलबाट प्रेम केसी, जनक नेपाल, सुदूर पश्चिमबाट छत्र साउद र मनमोहन स्वांर विजयी हुनु भएको छ।
त्यसैगरी मधेशी तर्फबाट राजकुमार दिक्पाल, महिलाबाट यशोदा तिमल्सिना, मधेशीबाट महेश दास र दलित कोटाबाट दिवाकर वागचन्द विजयी हुनु भएको छ।
त्यसैगरी एसोसिएट्सतर्फ भरत शाक्य, अजय फुयाल र शरदराज गौतम निर्वाचित हुनुभएको छ ।


विदेशी पाठयक्रम पढाउने निजी विद्यालयलाई सरकारले कारबाही गर्ने
काठमाडौं मई, ५


पाठयक्रम विकास केन्द्रको अनुमति नलिई मनोमानी तरिकाले विदेशी पब्लिकेसनका पाठयक्रम पढाउने निजी विद्यालयलाई सरकारले कारबाही गर्ने भएको छ ।

पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हरिबोल खनालले पाठयक्रम विकास केन्द्रले अनुगमन गर्दा अधिकाँश निजी विद्यालयले तोकेको पाठयक्रम नपढाई भारतका विभिन्न पब्लिकेसनका पाठयपुस्तकहरू पढाउँदै आएको पाइएकाले त्यस्ता निजी विद्यालयलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

केन्द्रको अनुगमनमा अधिकांश निजी विद्यालयहरूले कक्षा १ देखि कक्षा १० सम्म विदेशी पाठयपुस्तक पढाइ गरेको पाइएको बताइएको छ ।

त्यस्ता पाठयपुस्तक पढाइ भएका विद्यालयको शिक्षालाई मान्यता नदिइने र त्यस्त् विद्यालयलाई खारेजसमेत गर्न सकिने गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने केन्द्रले जनाएको छ ।

भारतीय पब्लिकेसनका पाठयपुस्तक पढाइ हुँदा भारतको धर्म, नाम, उदाहरण तथा प्रचार हुने गरेको तर नेपालको नाम, पहिचान, धर्म, उदाहरण र इतिहास विद्यार्थीहरूले थाहा नपाउने भएकाले विद्यार्थीमा नकारात्मक असर पर्ने केन्द्रले ठहर गरेको छ ।

सरकारले यसको कडाइका साथ अनुगमन गर्नुपर्ने र निजी विद्यालयमा केन्द्रको पाठयक्रमअनुसार पढाइ भए-नभएको जिल्ला शिक्षा शिक्षा कार्यालयलाई अनुगमन गर्न निर्देशनसमेत दिइसकेको बताइएको छ ।


सद्भावना पार्टी आनन्ददेवीकी अध्यक्ष आनन्दीदेवी बेपत्ता
मई, ४ काठमाडौं


नेपाल सद्भावना पार्टी आनन्दीदेवीकी अध्यक्ष आनन्दीदेवी सिंहलाई पार्टीका नेता खुसीलाल मण्डल र उहाँका सहयोगी चेतकान्त झाले दुई महिनायता बेपत्ता पारेको पारिवारजनले आरोप लगाएका छन् ।
उक्त आरोप आनन्ददेवी सिंहका भतिजा यसवन्त सिंहले राजधानीमा पत्रकार सम्मेलन गरी मण्डल र झाले सप्तरीको राजविराजबाट काठमाडौ बोलाई आनन्दीदेवीलाई बेपत्ता पारेको आरोप लगाउनुभएको हो । उहाँले आफ्नी ठुलीआमा आनन्दीदेवीको नाममा रहेको जग्गा हात पार्न मण्डल र झाले बेपत्ता पारेको दावी गर्नुभयो ।
उहाँका अनुसार दुई महिनायता आनन्दीदेवी सम्पर्क बाहिर रहनु भएको छ। यता मण्डलले आनन्दीदेवीलाई आफूहरुले बेपत्ता पारेको आरोप गलत भएको दावी गरेका छन् ।
मण्डलले सिंह आफूहरुको नियन्त्रणमा नभई काठमाडौमै आफन्तको घरमा बस्दै आएको बताएका छन् ।