Saturday, May 10, 2008

Madhesh Special

गोइतका तीन सय कार्यकर्ता माओवादीमा
मई, 9 काठमाडौं

नेपालको तराइ क्षेत्रमा सशस्त्र सङ्घर्ष गरिरहेको जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका सुनसरी-मोरङ इन्चार्ज सङ्केत सहित सो समूहका ३०० भन्दा बढी कार्यकर्ता बुधबार नेकपा ९माओवादी०मा प्रवेश गरेका छन् ।
बुधबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित माओवादीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सो मोर्चाका सुनसरी-मोरङ इन्चार्ज सङ्केत, सुनसरी इन्चार्ज रञ्जन, जिल्लाकै सहइन्चार्ज खगेन्द्र सिंह, सैन्य कमान्डर भूपनारायण, सैन्य सहकमान्डर जयकृष्ण, तराई विद्यार्थी मुक्ति मोर्चा सुनसरी संयोजक शङ्कर, तराई शिक्षक मुक्ति मोर्चाका वीरेन्द्र, तराई युवा मोर्चा सुनसरी संयोजक दिलचन्द साहलगायत ३०० भन्दा बढी कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी माओवादीमा प्रवेश गरेको घोषणा गरेका छन् ।
त्यहाँ आयोजित पत्रकार सम्मेलनमा गाेइतले नेतृत्व गरेको मोर्चाका सुनसरी जिल्ला अन्तर्गत रहेका जनसरकार, जनअदालत र सबै जनवर्गीय सङ्गठनहरु माओवादीमा समाहित भएको जनायो ।
प्रेस विज्ञप्तिमा जनाइए अनुसार मोर्चाले व्यक्ति हत्या, चन्दा आतङ्क, गैरराजनीतिक क्रियाकलाप व्यक्तिगत स्वार्थका कामहरु मात्रै गरेकाले बाध्य भएर विद्रोह गर्नुपरेको सङ्केतले जनाउनु भएको छ ।
बुधबार जारी सो विज्ञप्तिमा ०६२-६३ को जनआन्दोलनले प्राप्त अधिकारलाई संविधानसभा मार्फत माओवादीलाई देशको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गरेपछि सङ्घीय गणतन्त्रात्मक राज्य स्थापनाका लागि हतियारको आन्दोलनको अर्थ नरहेने भएकाले माओवादीमा समाहित हुनुपरेको प्रष्ट पारिएको छ ।
मोर्चाको विज्ञप्तिमा अगाडि भनिएको छ- आज मुलुक नयाँ दिशातर्फ जान लागिरहेकाले नयाँ नेपाल निर्माण र शान्ति स्थापना, आर्थिक क्रान्ति गरी समुन्नत राज्य स्थापना गर्न सामन्तवाद साम्राज्यवाद, विस्तारवाद र सबै खाले उत्पीडनका विरुद्ध मुक्ति युद्धको नेतृत्व गर्दै आइरहेको महान् तथा गौरवशाली पार्टी माओवादीमा प्रवेश गरेको घोषणा गर्दछौ ।

चिनीयाँ राजदूत तथा प्रम कोइराला बीच भेटवार्ता
मई, 9 काठमाडौं

वर्तमान राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनियाँ राजदूत जिङ जियालिङबीच बिहीबार भेटवार्ता भएको छ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा राजदूत जिङले बुधबार बिहान ४ बजे ओलम्पिक टस सफलतापूर्वक सगरमाथा पुर्‍याउन सहयोग गरेकोमा प्रधानमन्त्रीसहित नेपाल सरकारलाई धन्यावाद दिनुभयो ।
सो भेटमा चिनीयाँ राजदूतले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध सुमधुर रहने बताउनु भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार आदित्य बरालले जानकारी दिनुभयो ।
सोही अवसरमा राजदूत जिङमार्फत प्रधानमन्त्री कोइरालाले चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई बधाई पत्र समेत पठाउनुभएको छ ।

गणतन्त्र कार्यान्वयन भएन भने ७५ वटै जिल्ला कब्जा हुन्छ प्रचण्ड
मई, 9 काठमाडौं

नयाँ सरकार गठनको प्रक्रिया शुक्रबारबाट औपचारिक रुपमा सुरु हुने बताउँदै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान बस्ने सात दलको बैठकबाट यस्तो प्रक्रिया सुरु हुने बताउँदै दुई तीन दिन हप्तामा नयाँ सरकार बन्ने बताउनुभयो ।
बिहीबार राजधानीमा रोल्पाबाट संविधानसभा निर्वाचनमा निर्वाचित सभासदको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कतिपय दलले जनादेशको सम्मान गर्न नसकेकाले सरकार गठनमा ढिलाई भइरहेको बताउनुभयो ।
प्रचण्डले दलहरुबीच सहमति भएपछि संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्यसँगै नयाँ सरकारको घोषणा हुने बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले पहिलो बैठकले सामन्तहरुको हैकम सदाका लागि अन्त्य गर्ने भन्दै त्यसमा व्यवधान गर्न खोजे सोही दिन ७५ वटै जिल्ला सदरमुकाम र राजधानी कब्जा गर्ने चेतावनी दिनुभयो ।
माओवादी अन्य दलजस्तो सुविधाभोगी नहुने आश्वस्त पार्दै उहाँले भन्नुभयो, हजारौको बलिदानलाई टाउकोमा बोकेर हिडेको पार्टी अरु छैन र सम्पूर्ण घरबार त्यागेर हिडेको केन्द्रीय समिति अरु दलजस्तो हुनै सक्दैन ।
निर्वाचनमार्फत मुलुक चमत्कार भएको दोहोर्‍याउँदै अध्यक्ष प्रचण्डले अब केही वर्षमा अर्को भयानक चमत्कार हुने बताउनुभयो । केही वर्षमा नेपाल विश्वकै विकसित मुलुकमा परिणत हुने उहाँको भनाइ थियो ।।

मन्त्री गुप्तालाई पदच्युच गर्न माग
काठमाडौं मई, 9

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले आफ्नो पार्टीका राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहलाई अपहरणमुक्त र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्तालाई पदच्यूत गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ ।

सो पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यही वैशाख २२ गते मन्त्री गुप्ताको नेतृत्वमा पार्टी अध्यक्ष सिंह राजविराजबाट अपहरणमा पर्नुभएको जानकारी दिँदै उहाँको मुक्तिका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गर्दा पनि कुनै पहल नभएको भनी दुःख व्यक्त गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष खुसीलाल मण्डलले अध्यक्ष सिंहको मुक्ति र मन्त्री गुप्ताको बर्खास्तीसम्बन्धी विषयमा प्रधानमन्त्रीबाट आश्वासन प्राप्त भए पनि अहिलेसम्म कुनै काम नभएकाले दवाव सृजना गर्न समाजसेवी, मानवअधिकारकर्मी तथा सञ्चारकर्मीलगायत समस्त जनसमुदायसँग आग्रह गर्नुभयो ।

यसैगरी पार्टी नेत्री सरिता गिरीले पार्टीबाट निष्कासित गुप्तालाई सातदलीय सरकारमा राख्नु र आपराधिक गतिविधिमा संलग्न भएकामा विभिन्न प्रमाण पेस गर्दा पनि कुनै कारवाही नहुनु आश्चर्यको विषय भएको बताउनुभयो ।

सो पार्टीले गुण्डागर्दी र अनेकौँ जालझेल गरी अपहरणमा पर्नुभएकी पार्टी अध्यक्ष सिंहलाई तत्काल हिरासतबाट मुक्त नगरिए विरोधका कार्यक्रम ल्याई सशक्तरूपमा लाग्न बाध्य हुनुपर्ने जनाएको छ ।

बालुवाटारमा सात दलको शिर्ष नेताहरुको बैठक सुरु हुँदै
काठमाडौं मई, 9
गणतन्त्र कार्यन्वयन, नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न सात राजनीतिक दलका शिर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको छ। बैठक बिहान ८ बजे नै बस्ने बताइए पनि यो समाचार तयार पार्दै गर्दा ९ बजेतिर दलका नेताहरु बालुवाटार पुग्ने क्रम जारी छ।

आजको बैठकमा संविधानसभाको पहिलो बैठकको प्रक्रिया र कार्यसूचीबारे परामर्श हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बिहीबार सार्जजनिक गरेपछि संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ गतेभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्नेछ ।

अन्तिम निर्वाचन परिणाम सार्वजनिक भएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने अन्तरिम संविधान २०६३ मा उल्लेख छ।

आजको बैठकमा संविधानसभा निर्वाचनपछि स्थापित नयाँ राजनीतिक शक्तिसँगको सहकार्य र सहमतिको प्रक्रियाका बारेमा पनि छलफल हुने कांग्रेस महामन्त्री विमलेन्द्र निधिले बताउनुभयो ।

संविधानसभामा राजनीतिक सहमतिका आधारमा विशिष्ठ व्यक्तिहरुमध्येबाट मनोनित गर्नुपर्ने २६ जनाबारे पनि परामर्श हुने निधिले बताउनुभयो । संविधानसभा निर्वाचन भएको ठिक एक महिनापछि पहिलो पटक सात दलको बैठक बस्न लागेको हो ।

No comments: