नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय रहेका र शक्तिशाली मन्त्री पनि बनिसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विजयकुमार गच्छदार र सरतसिंह भण्डारीसहित ६ जना सांसदले सोमबार नेपाली कांग्रेस र सांसद पद परित्याग गरेका छन् ।
काठमाडौंको टेकुस्थित होटल अर्किडमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी र सांसद पद त्यागेको घोषणा गरेका हुन् । त्यसैगरी पार्टी र पद त्याग गर्ने अन्य कांग्रेसी सांसदहरुमा लक्ष्मणप्रसाद मेहता, रामजनम चौधरी, मंगलप्रसाद थारु र हरिनारायण चौधरी रहेका छन् । पछिल्लो आम निर्वाचनमा गच्छदार सुनसरी-२, भण्डारी महोत्तरी-३, मेहता सुनसरी-३, राजनम चौधरी कैलाली-२, हरिनारायण मोरङ-६ र थारु बर्दिया-२ बाट निर्वाचित भएका थिए ।
काँग्रेस छाडेका उनीहरु मधेशी जनअधिकार फोरममा प्रवेश गर्ने भएका छन् । गच्छदार र भण्डारी मधेश समस्या समाधान नभइ निर्वाचनमा नजाने घोषणा गर्दै यसअघि पार्टीले दिएको टिकट बहिस्कार गरेका थिए । मधेशका माग सरकारले सम्बोधन गरेपछि प्रत्यक्ष प्रणालीअन्तर्गत टिकटका लागि गरेको आग्रह पार्टी नेतृत्वले अस्वीकार गरेपछि उनीहरुले कांग्रेस परित्याग गरेका हुन् ।
यसअघि पनि उनीहरुले राजतन्त्रको पक्षमा वकालत गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिदै हिडेका थिए । अन्य चार सांसदलाई पनि कांग्रेसले यो पटक टिकट दिएको थिएन । उनीहरु पनि राजा निकट मानिदै आएका छन् ।
मधेश समस्या समाधान नभए दश सांसदसहित कांग्रेस छोड्ने तयारीमा रहेका गच्छदार र सरतसिंह भण्डारी मधेश समस्या राज्यले हल गरेकाले ६ जना मात्र लिएर बाहिरिएका छन् । यसले मधेश आन्दोलनमा राजावादीहरुको हात रहेको भन्ने तर्कलाई समेत बल पुर्याएको छ ।