४ हजार ६ सय १४ विवेकशील जनताको मत पाएर संविधानसभामा निर्वाचित भई राज्यमन्त्रीसमेत बनेकी करिमा बेगमले विवेक गुमाएर कर्मचारी कुटेकी छिन् । जिल्लाका सुरक्षा-प्रमुख सिडिओ नै राज्यमन्त्रीबाट कुटिएपछि पर्साका कर्मचारी आन्दोलित छन् ।
मंगलबार गृहनगर वीरगन्ज आएकी कृषिराज्यमन्त्री बेगमले आफूलाई थोत्रो गाडी दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमै गएर सिडिओ दुर्गाप्रसाद भण्डारीलाई दुई झापड हानेकी थिइन् । मन्त्रीको झापडले भण्डारीको चस्मा फटेर आँखाको छेउमा चोट लागेको छ, गाला सुन्निएको छ ।
मन्त्री भएपछि आफू पटक-पटक गृहनगर आउँदा सिडिओ एकपटक पनि भेट्न नआएको र गाडी पनि थोत्रो दिएको भन्दै राज्यमन्त्री बेगम हातपातमा उत्रिएकी हुन् । 'अरू जिल्ला जाँदा सिडिओ फूलमाला लिएर एअरपोर्ट आउँछन्, आफ्नै जिल्लाको सिडिओ ठालू पल्टिने ? मलाई पहिलेदेखि नै रिस उठेको थियो,' राज्यमन्त्री बेगमले नयाँ पत्रिकासित भनिन् ।
एउटा कार्यक्रमको उद्घाटन गर्न मंगलबार वीरगन्ज पुग्दा पनि सिडिओले थोत्रो गाडी पठाइदिएर आफूलाई अपमानित गरेकाले हातपात गरेको उनले बताइन् । 'त्यो सिडिओ आएपछि पर्सामा असुरक्षा बढेको छ, जनताको गुनासो आइरहेको थियो,' उनले भनिन्, 'मलाई पनि थोत्रो गाडी पठाइदियो, जनता र मन्त्रीलाई समेत अपमानित गर्ने सिडिओलाई मैले झापड हानेकी हुँ ।'
उता सिडिओ भण्डारीले राज्यमन्त्रीका लागि सिँचाइ कार्यालयको गाडी पठाइदिएको र त्योभन्दा राम्रो गाडी तत्काल आफूसँग नभएको बताए । 'मैले मित्सुबिसी गाडी पठाइदिएको हुँ, सिडिओले कहाँबाट ल्याउने त्योभन्दा राम्रो गाडी ?' उनले प्रतिप्रश्न गरे ।
सिडिओ आफ्नै कार्यकक्षमा मन्त्रीबाट कुटिएपछि अरूको के सुरक्षा छ भन्दै पर्साका कर्मचारी मंगलबारबाटै आन्दोलनमा छन् । राज्यमन्त्रीले माफी माग्नुपर्ने र सरकारले उनीमाथि कारबाही गर्नुपर्ने कर्मचारीहरूको माग छ ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, स्थानीय निकाय कर्मचारी संघ, नेपाल निजामती कर्मचारी युनियन, मधेसी निजामती कर्मचारी मञ्च र नगरपालिका कर्मचारी एसोसिएसनले सयुंक्तरूपले प्रेस-विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका छन् । उनीहरूले कर्मचारीको सुरक्षा तथा दोषीमाथी कारबाहीको माग गर्दै अनिश्चितकालका लागि सरकारी सेवा ठप्प पारेका छन् ।
मैले दुई चड्कन हानेँ : राज्यमन्त्री करिमा बेगम
यो सिडिओ आएदेखि नै पर्साका जनताले चयनको सास फेर्न पाएका छैनन् । हत्या, हिंसा र अपहरणका घटना दिन दुईगुना रात चौगुना बढेका छन् । एक महिनामै चारवटा जघन्य घटना भए, अझ कतिपय घटनामा त प्रहरी-प्रशासनकै मान्छे पनि संलग्न भएको देखियो ।
म राज्यमन्त्री भएपछि धेरै जिल्ला गएँ, मन्त्री आउने थाहा पाएपछि सिडिओ फूलमाला लिएर 'एअरपोर्ट' आउँछन् । अरू मन्त्रीका पनि यस्तै अनुभव सुनेकी छु । तर, आफ्नै गृहजिल्लाको सिडिओ मात्तिएको पर्यो । एकपटक पनि एअरपोर्ट आएन, जनतालाई हैरान पार्यो, मलाई अपमान गर्यो ।
'एअरपोर्ट' मा स्वागत गर्न आएन । ठीकै छ भनेर मैले उसलाई पटक-पटक फोन गरेँ । जतिपटक म जिल्ला आएँ, उतिपटक फोन गरेँ । म गृहजिल्ला आएकी छु, भेट्न आउनोस् भनेर बोलाएँ । तर, उसले कहिले विराटनगर छु, कहिले काठमाडौं छु भनेर जवाफ दियो ।
जिल्लामा शान्ति छैन, मन्त्री आउँदा पनि सिडिओले 'रेस्पोन्स' गर्दैन । यस्तो के सिडिओ राखेको होला भनेर म आफैँ आश्चर्यमा थिएँ । केही दिनअघि प्रधानमन्त्रीले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको बैठक डाक्नुभएको थियो । मैले गृहमन्त्रीलाई भनेँ, 'पर्सामा त्यस्तो के सिडिओ राख्नुभएको हो ? त्यसले त न जनताको मान गर्छ न मन्त्रीको ?' मेरो कुरा सुनेर गृहमन्त्रीले भन्नुभएको थियो, 'ठीक छ, म त्यसलाई कारबाही गर्छु ।'
गृहमन्त्रीले कारबाही गर्छु भन्नुभएको थियो, तर कारबाही भएको छैन । कारबाही होला भन्ने आशा थियो । यहीबीच मंगलबार गरिब तथा जहेनदार विद्यार्थीका लागि एउटा कार्यक्रम आयोजना भयो । प्रमुख अतिथिका रूपमा मलाई बोलाइयो, आफ्नै जिल्लामा हुने सामाजिक कामको उद्घाटन गर्ने अवसर मैले चुकाउने कुरै भएन ।
बिहान नौ बजे विमानस्थल पुगेकी थिएँ, तर गुण एअरको विमान १५ मिनेट 'डिले' भयो । सबा नौ बजे जहाज उड्यो । १० बजे विराटनगर पुगियो । विमानस्थलमा मेरा कार्यकर्ता थिए, तर सिअिडो थिएनन्, उनी आउलान् भन्ने आशा पनि थिएन यसपालि ।
म सरासर आफ्नै घर गएँ । घर पुगेर सिडिओलाई फोन गरेँ । मलाई कार्यक्रममा जानु थियो । मन्त्री आउँदा गाडी त जिल्ला-प्रमुखले नै मिलाउने हो । मैले त्यही आशा गरेँ । तर, फोन गर्दा सिडिओले अन्टसन्ट कुरा गरे । अन्तिममा एउटा गाडी पठाइदिए । तर, त्यो गाडी यति थोत्रो रहेछ कि चढ्दा मन्त्रीकै बेइज्जत हुने, देशकै बेइज्जत हुने ।
थोत्रो गाडी देखेर मैले सिडिओलाई फोन गरेँ । 'तपाईं कहाँ हुनुहुन्छ ?' मेरो प्रश्न थियो । 'म त बाहिर छु,' उनले जवाफ दिए । 'तपाईं बाहिरै भए पनि ठीकै छ, तर म तपाईंको कार्यालय आउँदै छु' यति भनेर म जिल्ला प्रशासन कार्यालय गएँ ।
जिल्ला प्रशासन कार्यालय परिसरमा एकजना उभिएका थिए । मैले उनलाई सोधेँ, 'सिडिओ खोइ ?' मैले जसलाई सोधेँ सिडिओ उनै रहेछन् । उनी नम्र थिएनन् । मै हुँ सिडिओ, किन खोज्नुभयो भन्दै ठाड्ठाडो कुरा गर्न थाले ।
वादविवाद हुँदै हामी उनको कार्यकक्षमा गयौँ । 'तपाईंले मन्त्रीलाई गर्ने व्यवहार यही हो ?' मैले प्रश्न गरिरहेँ । तर, उनी मन्त्रीसन्त्री यस्तै हुन् भन्दै मुखमुखै लागिरहे । मेरो प्रश्नको जवाफ दिएनन्, उल्टै थर्काउन खोजे ।
उनले मलाई पटक-पटक आँखा देखाए । मैले आँखा नदेखाउनोस् भनेर चेतावनी दिएँ । उनले पटक-पटक औँला ठड्याए । मैले औँला नठड्याउनोस् भनेर चेतावनी दिएँ । मैले चार-पाँचपटक चेतावनी दिँदा पनि उनले टेरेनन् । मुख-मुखमा औँला ल्याए । मैले त्यसपछि आफूलाई थाम्न सकिनँ, औँला च्याप्प समातेर निमोठिदिएँ, झपाझप दुई झापड चड्काइदिएँ ।
म आवेगमा थिएँ, दुई झापड हान्दा पनि मेरो रिस अझै मरेको थिएन । तर, मलाई मेरा कार्यकर्ताले समाते । छोडिदिनुहोस् भनेर सम्झाए, बाहिर ल्याए । नत्र अझै बबाल हुन्थ्यो ।
मैले गाडीका लागि हात उठाएँ, त्यो त एउटा मात्र कारण भयो । तर, मुख्य कारण त्यो होइन । खासमा त पर्साका जनता असुरक्षित छन्, सिडिओलाई मतलबै छैन । जनताको कुरा सिडिओ सुन्दैनन् । मन्त्रीको पनि सुनेनन् । त्यसैले चड्कन खाए ।
आफ्ना हाकिम कुटिएको भनेर कर्मचारीले आन्दोलन गर्ने भनेका छन् । म त जनप्रतिनिधि, जनताका तर्फबाटै सिडिओ कुटेकी हुँ । माफी माग्ने कुरै छैन । परेको बेहोर्छु ।
यस घटनापछि प्रधानमन्त्री, गृहमन्त्रीसँग कुरा भएको छैन । हाम्रो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फोन गर्नुभएको थियो । के गर्नुभयो तपाईंले यस्तो भनेर रिसाउनुभयो । उहाँ मेरो अध्यक्ष, डाँट्नु (झपार्नु) भयो । त्यो ठीकै छ । तर, कर्मचारीको दबाबमा म माफी माग्दिनँ । मैले जे गरेँ, ठीक गरँ ।
कारबाही नभएसम्म आन्दोलन हुन्छः सिडिओ
करिमा बेगम पर्साबाट सभासद् बन्नुभयो, मन्त्री पनि बन्नुभयो । सबै कुरा ठीकै थियो । तर, जतिपटक उहाँ जिल्ला आउनुहुन्छ, सिडिओ एअरपोर्टमै आओस् भन्ने उहाँलाई लाग्दोरहेछ । मन्त्री आएपछि सम्मान र सुरक्षा दिने हाम्रो काम हो । तर, एअरपोर्ट गएर चाकडी गर्ने काम हाम्रो होइन । करिमा मात्र होइन, जोसुकै मन्त्री आए पनि एअरपोर्ट गइएको छैन, जाने कुरै छैन ।
कृषिराज्यमन्त्री करिमा बेगम मंगलबार वीरगन्ज आउने कुरा थियो । त्यसका लागि मैले गाडी पठाइदिएको थिएँ । उहाँलाई रोजीको गाडी चाहिने सधैँ । तर, हामीसँग धेरै गाडी नै हुँदैनन् । एउटा जिल्लामा कति नै गाडी हुन्छन् र ?
उहाँलाई जहिले पनि जिविसको गाडी चाहिने । तर, यसपालि एलडिओ काठमाडौं जानुभएकाले जिविसको गाडी उतै छ । नारायणी सिँचाइको गाडी फिल्डमा गएको थियो । कृषि अनुसन्धानको गाडी खाली रहेछ । त्यो पनि चानचुने होइन, मित्सुबिसी गाडी हो । तर, त्यो गाडी देखेर उहाँलाई पारो चढेछ । सरकारले जिल्लालाई कति गाडी दिएको छ भन्ने नबुझेर मन्त्री रिसाउन मिल्छ ? जिल्ला प्रशासनको मातहतमा नभएका गाडी कहाँबाट खोजेर ल्याउने मैले ।
गाडी थोत्रो भयो भन्दै राज्यमन्त्रीले फोन गर्नुभयो । मैले हामीसँग त्यही गाडी छ, अरू त उपाय छैन भनेर जवाफ दिएँ । त्यसो भए म तपाईंको कार्यालयमै आउँछु, भेटेरै कुरा गरौँला भनेर फोन राखिदिनुभयो । मैले हुन्छ भनेँ ।
राज्यमन्त्री आउने भनेपछि म आफ्नो चेम्बरबाट निस्किएर कार्यालयको प्रांगणमा गएँ । कार्यकर्ताको लावालस्करका साथ उहाँ आउनुभयो । मैले उहाँलाई बाहिरै स्वागत गरेँ । भित्र जाऊँ भनेर कार्यकक्षमा लगेँ ।
मलाई हेप्ने, मन्त्रीलाई हेप्ने, तिमी को हौ भन्दै उहाँले झम्टिनुभयो । मुलुकको एउटा मन्त्री, दसौँ हजार विवेकशील जनताको मत पाएर निर्वाचित जनप्रतिनिधि गुन्डागर्दीमा उत्रनुहोला भनेर सोचेको पनि थिइनँ । तर, उहाँले मलाई झापडमाथि झापड हान्नुभयो । मेरो चस्मा फुट्यो, चस्माले आँखाको किनारमा चोट पनि लाग्यो ।
पछि-पछि कार्यकर्ता थिए । तिनैका बलमा राज्यमन्त्रीले कार्यालयमै सिडिओमाथि आक्रमण गर्नुभयो । तर, राज्यमन्त्रीभन्दा कार्यकर्ता विवेकी रहेछन् । उनीहरूले तपाईंले यस्तो गर्न सुहाउँदैन भन्दै सम्हालेर उहाँलाई बाहिर लगे । अचम्म लाग्यो, कार्यकर्ताको जति पनि विवेक छैन देशकी मन्त्रीको ।
कार्यकर्ताले नरोकेका भए राज्यमन्त्रीको ताण्डव अझ बढ्ने थियो । म पनि संयमित भएँ । आफ्नै कार्यकक्षमा हातपात हुँदा पनि मैले हात फर्काइनँ । हात नफर्काएकामा मलाई पछुतो छैन । मैले आफ्नो धर्म पूरा गरेँ ।
ममाथि कुटपिट हुँदा पत्रकार साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू पनि आश्चर्यमा पर्नुभयो । मैले पत्रकारहरूसँग कुरा गरेँ । तर, त्यसभन्दा ठुल्ठूलो स्वरमा उहाँले गफ दिनुभयो ।
पहिले गाडी राम्रो भएन भनेर ममाथि आक्रमण गर्नुभयो । निहुँ त्यही मात्र हो । हामीसँग योभन्दा राम्रो गाडी छैन भनेर मैले राम्रोसँग भन्न पनि पाइनँ । तर, आफ्नो गल्ती ढाकछोप गर्न पर्साका जनता असुरक्षित छन्, त्यसैले सिडिओलाई हातपात गरेँ पनि भन्नुभएछ । म यहाँ आएको नौ महिनामा शान्ति-सुरक्षा सुधि्रएको छ, त्यो सबैलाई थाहा छ । मेरो कमजोरी भएको छ भने पनि नियमसंगत कारबाही भए सहन तयार छु । तर, मन्त्री नै आएर सिडिओमाथि हातपात गर्छन् भने यसको चिन्ता मैले मात्र गरेर पुग्दैन, सारा कर्मचारी, जनता र नेपाल सरकारले गर्नुपर्छ ।
ममाथि कार्यकक्षमै हातपात भएपछि मैले गृहमन्त्रीज्यूलाई सम्पर्क गरेँ । उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । यस विषयलाई मन्त्रिपरिषद्मा लगेर छलफल गराउँछु भन्नुभएको छ । गृहमन्त्रीज्यूको भनाइमा म आशावादी छु । तर, राज्यमन्त्री करिमा बेगमलाई कारबाही नभएसम्म कर्मचारी काममा नर्फकने अडानमा छन् । हुन पनि सिडिओ नै असुरक्षित छन् भने कर्मचारी सुरक्षित कसरी होलान् । आफ्नो सुरक्षाका लागि कर्मचारीको आन्दोलन स्वाभाविक हो ।